संघीयताविरुद्ध देशव्यापी अभियान चलाउदै राष्ट्रिय जनमोर्चा


काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले संघर्षका आगामी कार्यक्रम तय गरेको छ । संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ ।’ यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने जनमोर्चाले जनाएको छ । चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ ।

२०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए । राष्ट्रिय जनमोर्चाले आउँदो असोजमा एक महिना सदस्यता वितरण अभियान चलाउने पनि तयारी गरेको छ ।