साढे ६ हजार क्यू.फिट गोलिया काठ हिनामिना गरेको आरोपमा बाँकेको एक सामुदायिक वनका अध्यक्षसहित ८ पक्राउ

नेपालगन्ज । साढे ६ हजार बढी क्यू.फिट गोलिया काठ हिनामिना गरेको आरोपमा बाँकेको एउटा सामुदायिक वनका बहालवाला अध्यक्षसहित पूर्व पदाधिकारी र सदस्य गरी ८ जना पक्राउ परेका छन् ।

उक्त परिमाणको गोलिया काठ हिनामिना गरेको आरोपमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ स्थित समय भवानी सामुदायिक वन उपभोक्ता समुहका वहालवाला अध्यक्ष र पूर्व पदाधिकारी तथा सदस्य समेत गरी ८ जनालाई बुधबार पक्राउ गरीएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । उनिहरुलाई वन कार्यालयको अनुरोधमा बाँके प्रहरीले आ–आफ्नै निवासबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त सामुदायिक वनका बहालवाला अध्यक्ष भोला थारु, पूर्व सचिव आरती वैश्य, पूर्व कोषाध्यक्ष मैयासरी थारु, पूर्व सदस्य कमला केसी, पूर्व सदस्य मानबहादुर विक, पूर्व सदस्य रामकली थारु, पूर्व सदस्य खड्क बहादुर वली र पूर्व सदस्य शिवकुमार थारु रहेको वन कार्यालयले जनाएको छ । वन कार्यालयले उक्त समुहलाई काठ दाउरा हस्तान्तरण गर्दा पक्राउ परेकाहरु तत्कालिन समयमा कार्यसमितीमा रहेका थिए । तत्कालिन समयमा ११ सदस्यीय कार्यसमिति मध्ये १ जनाको मृत्यु भएको, १ जनाको खुट्टा भाँचिएर घाइते अवस्थामा रहेको र १ जना फरार रहेको हुँदा ८ जनालाई मात्र पक्राउ गरी मुद्दा चलाइएको अनुसन्धान टोलिका एक अनुसन्धान अधिकृत रमेश बुढाथोकीले जानकारी दिए । हालका अध्यक्ष भोला थारु तत्कालिन समयमा पनि सो समुहकै अध्यक्ष रहेको उनले बताए ।

सिक्टा सिंचाई आयोजनाले २०७५ सालमा राप्तीसोनारी र नरैनापुर गाउँपालिकासम्म सिंचाईको व्यवस्था गर्ने उद्देश्यले राप्ती नदीको पूर्वी मुलनहर र सो को शाखा तथा प्रशाखा नहर निर्माण गर्ने क्रममा सो सामुदायिक वन क्षेत्रभित्र पर्ने विभिन्न जातका रुखहरु कटान गरी त्यसबाट उप्पादन भएको गोलिया काठ र दाउराहरु घाटगद्दी गरी राखेको थियो । उक्त समयमा कटान गर्दा विभिन्न जातका काठको गोलिया संख्या १९०३ को आयतन १०९३६.२५ क्यू.फिट र साल जातको दाउरा ११ चट्टा र मिश्रित जातको दाउरा ८७ चट्टा गरी कुल ९८ चट्टा दाउरा उत्पादन भै घाटगद्दीमा राखिएको थियो ।

उत्पादित उक्त मात्राको गोलिया काठ र दाउराहरु २०७६ सालमा सिक्टा सिंचाई आयोजनाले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको थियो तत्पश्चात २०७६ साल कार्तिक २० गते डिभिजन वन कार्यालय बाँकेले उक्त परिमाणको काठ दाउरा तत्कालिन समुहलाई हस्तान्तरण गरेको थियो । तत्कालिन समयमा वहालवाला अध्यक्ष भोला थारु सो समुहको अध्यक्ष नै रहेका थिए । उनि हालसम्म निरन्तर अध्यक्षनै रहेका छन् भने पक्राउ परेका अन्य पदाधिकारी र सदस्यहरु तत्कालिन समयमा समुहको कार्यसमितीमा रहेका थिए ।

२०७८/९/११ मा त्यस सामुदायिक वनका केही उपभोक्ता सदस्यहरुले सो उपभोक्ता समुहका पदाधिकारीहरुले संस्थाको ऐन, नियम तथा नेपाल सरकारको वन ऐन विपरीत मनोमानि तथा लापरवाही ढंगले काम गर्दै आएको भन्दै उनिहरु मथि छानविन गरी अनुसन्धानको दायरामा ल्याई दोषिमाथि कडा कारवाही गर्नुपर्ने माग राख्दै डिभिजन वन कार्यालय बाँकेलाई लिखित अनुरोध गरेका थिए । स्थानीहरुले २०७६ सालदेखि आर्थिक हिनामिना गरेको, लेखापरिक्षण र साधारणसभा सार्वजनिक नगरेको, सरकारलाई कर छलि गरेको, घाटगद्दीमा राखिएका काठ हिनामिना गरेको लगायतमा समुहका पदाधिकारीहरुलाई छानविनको दायरामा ल्याउन पर्ने माग राखेका थिए ।

तत्पश्चात, डिभिजन वन कार्यालयले राप्ती सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज कुमार साहलाई २०७८/९/१६ मा सो समुहको स्थलगत निरीक्षण र छानविन गरी आवश्यक जाँचबुझ गरी एकिन राय सहितको प्रतिवेदन पेश गर्न भनि खटाएको थियो ।

सहायक वन अधिकृत साह काठ दाउरा राखेको घाटगद्दी स्थलमा पुगी स्थलगत अनुगमन तथा निरीक्षण गर्दा काठ दाउरा हिनामिना भएको पाइएको हो । साहले डिभिजन वन कार्यालयलाई बुझाएको लिखित प्रतिवेदनमा हाल सो समुहको घाटगद्दी स्थलमा विभिन्न जातको गोलिया काठ ७१९ थानको आयतन ४४१४.१७ क्यू.फिट र साल जातको ५.५० चट्टा र मिश्रित जातको ४८.५० गरी जम्मा ५४ चट्टा मात्र दाउरा मौज्दात रहेको जनाइएको छ ।

समुहलाई हस्तान्तरण गर्दा रहेको १९०३ थान गोलिया मध्ये हाल ७१९ थान मात्र गोलिया रहेको र १०९३६.२५ क्यू.फिट काठमध्ये हाल जम्मा ४४१४.१७ क्यू.फिट मात्र मौज्दात रहेको त्यसैगरी, साल जातको ११ चट्टा र मिश्रित जातको ८७ चट्टा गरी कुल ९८ चट्टा दाउरा मध्ये हाल सालको ५.५० र मिश्रित जातको ४८.५० गरी जम्मा ५४ चट्टा मात्र दाउरा मौज्दात रहेको साहको प्रतिवेदनमा उल्लेख छ । उनको प्रतिवेदन अनुसार सो समुहबाट ११८४ थान गोलिया काठ हिनामिना भएको पाइएको छ । ११८४ थान गोलियाको ६५२२.०८ क्यू.फिट काठ हिनामिना भएको हो । त्यसैगरी, सालको ५.५० र मिश्रित दाउरा ३८.५० गरी ४४ चट्टा दाउरा हिनामिना भएको पाइएको छ ।

यति ठूलो मात्रामा सो समुहबाट गोलिया काठ र दाउरा हिनामिना भएको पाइएपछि डिभिजन वन कार्यालयले जिल्ला अदालत बाँकेबाट पक्राउ आदेश लिएर प्रहरीको सहयोगमा उनिहरुलाई बुधबार नियन्त्रणमा लिएको हो । जिल्ला अदालतबाट ७ दिनको म्याद थप आदेश लिएर उनिहरुलाई मुद्दा चलाई अनुसन्धान सुरु गरिएको अनुसन्धान अधिकृत रमेश बुढाथोकीले जानकारी दिए । हराएको काठ दाउराको सरकारी दररेट अनुसार ५२ लाख ६ हजार बढी विगो दाविसहित अदालतमा मुद्दा अगाडि बढाइएको अधिकृत बुढाथोकीले बताए ।

पक्राउ परेका सबैजना हाल डिभिजन वन कार्यालय बाँकेको थुनुवा कक्षमा रहेको वन कार्यालयले जनाएको छ ।