मोरङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (२) बाट बागी उम्मेदवारी दिएका नवीन दाहालले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् ।
मोरङ ६ (२) बाट प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार युवा नेता जीवन आचार्यलाई समर्थन गर्दै दाहालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । यो क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य साझा उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन् ।
दाहालले शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताए । युवा नेता जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्डा अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै आफूले उम्मेदवारी निष्क्रिय पारेको उनको भनाइ छ ।
कोइरालासँग छलफलपछि विज्ञप्तिमार्फत दाहालले आफ्नो मुख्य चाहना जनताको अपेक्षा पूरा गर्न विकास र समृद्धि नै रहेको बताउँदै पार्टीले यही एजेण्डालाई मुख्य बनाएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील समेत गरेका छन् ।

कमेरो खबर । १६ कार्तिक २०७९, बुधबार ०९:०६