काठमाडौंका हलहरूले रोके हिन्दी फिल्मको प्रदर्शन


काठमाडौं । काठमाडौं उपत्यकाका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन् ।

महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए ।

‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं । फिल्ममा समावेशी आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो । भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उनले भने, ‘हामीले महानगरको निर्णयलाई मान्नुपर्छ । तर कहिलेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्ने निर्णय भएको छैन ।’

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । गतबिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन् । सैफ अली खान रावणको भूमिकामा देखिएका छन् ।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ । (सेतोपाटीबाट)