“काँडेतार” काे कथा उत्कृष्ट, सरकारले दियो १० लाख सहयोग

काठमाडौं । नेपाली चलचित्र काँडेतारले नेपाल सरकारबाट १० लाख रुपैयाँ सहयोग प्राप्त गर्न सफल भएको छ ।

चलचित्र काँडेतारले उक्त सहयोग रकम उत्कृष्ट कथा बापत प्राप्त गरेको निर्देशन नवल खड्काले जानकारी दिए ।

चलचित्र बिकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत “काँडेतार”को कथालाई उत्कृष्ट कथाको रुपमा छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत १० लाख रुपैयाँ नेपाल सरकारले प्रदान गरेको निर्देशक खड्काले बताए ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त राशीको चेक निर्देशक खड्कालाई प्रदान गरेकी हुन ।

निर्देशक खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रवर्द्धन भएको आफूले महशुस गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, वर्तमान अध्यक्ष भुवन केसी, निवर्तमान तथा वर्तमान बोर्ड सदस्यहरु र स्टोरी बैंकका छनोट समितिलाई धन्यवाद व्यक्त गरेका छन ।

राष्ट्रियताप्रति समर्पण भावका साथ निर्माण गरिएको फिल्म ‘काँडेतार’ आगामी फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, नादिया खड्का, सनया खड्कालगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक खड्काले तयार पारेका हुन् ।

संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य रहेको छ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको उक्त फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् ।