काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।
त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको छ । बोर्डले त्यससम्बन्धी निर्णय गत सोमबार गरेको थियो ।
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।
यसरी हेर्न सकिन्छ नतिजा :
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

कमेरो खबर । २१ असार २०८०, बिहीबार १६:४६