पिटरको ‘बकपत्र’ सार्वजनिक


काठमाडौं । वामपन्थी लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ प्रकाशित भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो । किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेखेका छन्।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए । ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे ।’

यसैगरी समीक्षक विन्दु शर्माले युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेको बताइन् । उनले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुरानारनयाँ तस्विर किताबमा लेखेका छन् पिटरले ।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीविको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए । ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन् ।’

जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले । ‘प्रत्येकको जीवन विश्वविद्यालय हो,’, उनले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो । मलाई ठक्करको दर्शन सिकाएकोको छ, दगुर्न नसके पनि हिँड्न सिकाएकोमा जिन्दगीलाई धन्यवाद ।’