नेपालगञ्जमा पुनः सुरु भयो बजार अनुगमन

बजार अनुगमनका क्रममा जफत गरिएका अवैध सुर्तीजन्य पदार्थलाई जलाएर नष्ट गरिँदै ।

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा दसैं सकिएपश्चात बजार अनुगमन कार्यलाई पुनः निरन्तरता दिइएको छ । दसैं अघि जिल्लाभर तीव्रताका साथ सञ्चालन गरिएको बजार अनुगमन कार्यलाई दसैंपछि पुनः सुरु गरिएको हो ।

अरु समयमा भन्दा चाडवाडका समयमा विभिन्न कारणबाट उपभोक्ताहरु बढी ठगी हुने गरेका कारण बजार अनुगमन कार्यलाई पुनः सुचारु गरिएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिए । चाडवाडमा मात्र नभएर बजार अनुगमनलाई नियमित रुपमा निरन्तर जारी राखिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्गको नेतृत्वमा विभिन्न सरोकारवा निकायहरु सहितको अनुगमन टोलीले मङ्गलबार नेपालगञ्ज बजारको अनुगमन गरेको प्रजिअ पोखरेलले बताए ।

मङ्गलबार नेपालगञ्जको सुर्खेतरोडस्थित जमुनाहादेखि विपी चोकसम्मका विभिन्न ५३ वटा पसल अनुगमन गरिएको तथा अनुगमनका क्रममा तीनवटा पसलले उपभोक्ता हित विपरितका गतिविधि गरेको पाइएकाले जनही १० हजार रुपैयाँका दरले जरीवाना गराई कारवाही गरिएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा १७ हजार ७० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रेका अखाद्य वस्तु तथा पेय पदार्थ र ३० हजार ५ सय ९८ रुपैयाँ बराबरको अवैध भारतीय सूर्तिजन्य पदार्थ नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

त्यसैगरी आज बुधवार पनि नेपालगञ्ज बजारको अनुगमन गरिएको छ । आज अनुगमन गरिएका ३० वटा पसलमध्ये दुईवटा पसलले उपभोक्ता हित विपरितका गतिविधि गरेको पाइएकाले एउटा पसललाई १० हजार रुपैयाँ र अर्को एक पसललाई २० हजार रुपैयाँ जरीवाना गराई कारवाही गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार आज ४ हजार ७ सय ४० रुपैयाँ बराबरको म्याद गुज्रिएको वियर र ३८ हजार १ सय ९४ रुपैयाँ बराबरको अवैध सूर्तीजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।