शौचालय नहुँदा विद्यालयका शिक्षक र विधार्थी झाडीतिर जान बाध्य


मुगु । सरकार वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार  सुधारका लागि लगानी बढाउदै गरेको बताउदै गर्दा दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुका विद्यार्थी तथा शिक्षक शौच गर्न अझै झाडीतिर जान्छन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

अचम्म पनि किन नलागोस २०७६ असोज १३ गते खुल्ला दिशा मुक्तका मानक पूरा गर्ने नेपाल दक्षिण एशिया कै पहिलो देश भएको भन्दै नेपाललाई खुल्ला दिसा मुक्त देश तामझामका साथ घोषणा गरियो भने मुगु जिल्लालाई पनि खुल्ला दिसा मुक्त्त जिल्ला भनेर लाखौ बजेट खर्च गर्दै २०७५ जेठ २८ गते घोषणा गरिएको थियो ।

जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमा अवस्थित दुई वटा विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि दिसा पिसाव गर्न झाडीतिर जाने गर्छन भन्दा जो कोहीलाई अचम्म लाग्छ ।

छायानाथ रारा नगरपालिका वडा न ५ माथितुममा रहेको श्री नव आदर्श आधारभूत विद्यालय र सोही पालिका वडा न १३ रुगा गाउँमा रहेको मालिका आधारभूत विद्यालयमा शौचालय नहुँदा अझै पनि शौच गर्न त्यहाँका विद्यार्थी र शिक्षक झाडीतिर जाने गरेका हुन ।

यी दुई विद्यालय सदरमुकाम नजिक सरकारको नजरमा पर्न सक्ने ठाउँमा भएकाले प्रतिनिधि अवस्थाका रुपमा यी विद्यालय लिइएको हो  सरकार तथा गैरसरकारी निकायका नजर नपुग्ने दुर्गम, विकट बस्तीहरुमा रहेका विद्यालयहरुको अवस्था झन कस्ता होला ?

मुगु जिल्लामा विद्यालय सरसफाई तथा स्वच्छताका लागि विद्यालयहरुमा लाखौको लगानीमा शौचालय बनाउने एनजिओहरु छन ती एनजिओहरुले कता लागानी गरे त्यो पनि सोचनिय विषय बनेको छ ।

मुगुमा विद्यालय भवन ३०/४० लाखका बन्ने तर शौचालय ६०/६५ लाखसम्मका बन्ने गरेको बताउछन् एक शिक्षक । विद्यालयमा शौचालय बनाउने एनजिओले स्थानीय सामाग्री बाहेक सबै आफै ल्याउँछन । ति सामाग्रीको मूल्य के कति परेको हो ? सामाग्रीको बिल विद्यालयले देख्नै पाउँदैनन । नाम नछाप्ने सर्तमा ति शिक्षक भन्छन, “स्थानीय सरकार एनजिओ सबै कमिसनमा छन, जुन विद्यालयमा कमिसन आउँछ, पावरवाला छन उतै भौतिक संरचना बनाउँछन ।, निरीह र पावर पहुँच नपुग्ने विद्यालयका शिक्षक, विद्यार्थी चुहिने भवनमा बसेर पढन पढाउन र दिसा पिसाव लागे झाडी चाहार्न बाध्य छन ।”

नव आदर्श आधारभूत विद्यालयका शिक्षक विनोद कुमार मल्ल भन्छन, “विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संघ संस्था तथा सरकारी निकाय बाँकी छैनन । शौच गर्न बालबालिका झाडीतिर जाँदा लडेर हात खुट्टा भाँचिएका, चिप्लिएर चोटपटक लागेका कयौ घटनाहरु छन । हामी शिक्षकहरु शौच गर्न तुम गाउका स्थानीयहरुका शौचालय जान्छौ ।” उनले भने, “गत वर्ष छायानाथ रारा नगरपालिकाले २ कोठे  विद्यालय भवन बनाइदियो, यो बर्ष खानेपानी र शौचालय बनाइदिन्छौ भनेर नगरप्रमुखले भन्नुभएको छ हेरौ ।”

उता मालिका आधारभूत विद्यालय रुगामा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउदा शौचालय लग्यो । त्यस यता धेरै निकायमा शौचालय बनाईदिन आग्रह गरेको तर कतैबाट सुनुवाइ नभएको बताउँछन् विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर शाही । शाहीले दिसा पिसाव लाग्दा झाडी, जङ्गल र गाउँलेका निजि शौचालयमा जानु बाहेक अर्को विकल्प नभएको गुनासो गरे ।

सोही विद्यालय कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्छन, “दिसा पिसाव लागे घर वा झाडीतिर जान्छौ । झाडीतिर जाँदा डर लाग्ने गरेको र आफू एक चोटी दिसा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको थियो ।”

दिसा पिसाव गर्न बाहिर जाँदा पढाई छुट्ने गरेको तथा सर्प, किराको डर लाग्ने र झाडीतिर दिसा पिसाव गर्न जादा कति पटक लडेर चोटपटक लाग्ने समेत गरेको बताउँछन् कक्षा ४ मा अध्यनरत छात्र राजन रावत ।

रुगाको विद्यालयमा १ सय ८५ जना विद्यार्थी अध्यनरत छन ।  छाडा शौच गर्दा वातावरण प्रदुषित हुनुका साथै सरुवा रोग फैलने सम्भावना रहने बताउँछन् शिक्षकहरु । समुदायलाई सकारात्मक शिक्षा दिनु पर्ने विद्यालयकै शिक्षक विद्यार्थीले छाडा खुल्ला ठाउँमा शौच गर्नु पर्दा लज्जित हुनु परेको शिक्षकहरु बताउँछन ।

नगरपालिका  मातहतका ४५  विद्यालयहरु मध्ये केही विद्यालयमा नयाँ भवन बनाउँदा, बाढी पहिरो आउँदा तथा भएका शौचालय जिर्ण हुँदा शौचालय बिहिन हुनु परेको नगरपालिकालाई अबगत छ । चालू वर्षमै त्यस्ता विद्यालयमा छात्र छात्रामैत्री शौचालय बनाउने योजना नगरपालिकाले बनाएको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताए ।