नेपालगन्ज । नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जमा अब छिट्टै सडकमा ट्राफिक लाइट बल्ने भएको हो ।
ट्राफिक लाइट जडानका लागि ठेकेदारले ट्राफिक लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछाउने प्रयोजनले खनेका नेपालगञ्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्नेलगायतका कार्यहरु सबै सम्पन्न गरेर पोलमा लाइट जडान गर्ने कार्य भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
प्रमुख विष्टले ठेकेदारले सडक विभागसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्यलाई तत्काल केहि ढिलासुस्ती गरेको भएपनि अबभने छिट्टै जडान कार्य सकेर सञ्चालनमा आउने बताए । उनका अनुसार रत्न राजमार्ग अन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डमा पर्ने नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक र गणेशमान चोकगरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम भइरहेको छ ।
ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंका इन्जिनियर पदम थापाले नेपालगन्जमा ट्राफिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको बताए । सडकमा भुमिगत तार तथा पाइप बिछाउने काम तथा पोल गाड्ने काम सकाएर पोलमा लाइट तथा कन्ट्रोलर जडानको काम धमाधम भइरहेको ई. थापाले जानकारी दिए ।
पाँच स्थानमध्ये राँझा चोक र गणेशमान चोक गरी दुई वटा चोकमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको र बाँकीका विपि चोक, धम्बोझी चोक र पुष्पलाल चोकमा पनि अन्तिम चरणमा काम भइरहेको उनले बताए । अबको १५–२० दिनभित्रमा सबै ठाउँमा लाइट जडानको काम सकिने उनको भनाइ छ ।
थापाका अनुसार अबको एक डेढ महिना भित्रमै नेपालगन्जमा ट्राफिक लाइट बल्ने छ । लाइट जडान गरि सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवकहरु बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिन्हहरु, नियमहरु, संकेतहरुका बारेमा सचेतना समेत प्रदान गरिने उनले बताए ।
थापाका अनुसार लाइट सञ्चालनमा आएको दुई बर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी कम्पनीसँगै हुनेछ भने दुई बर्षसम्मको विद्युत महशुल सडक विभाग आफैंले भुक्तान गर्नेछ । भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र बैज्ञानिक ढङ्गबाट ट्राफिक लाइट जोड्ने काम भएको उनले बताए ।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौंसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले २०८० माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ पुस महिनामा एक करोड ५९ लाख रुपियाँ (भ्याटसमेत)मा ठेक्का सम्झौता गरेको थियो ।
नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट तथा उपप्रमुख कमरुद्दीन राईको उपस्थितीमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गरेका थिए ।

गजेन्द्र गुरुङ । १२ माघ २०८०, शुक्रबार १७:३७