नेपालगन्जमा आज ‘नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव’ हुँदै

पत्रकार भेटघाट कार्यक्रममा नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा.जोएल इभोनेट् ।

नेपालगन्ज, वैशाख ३ गते । नेपालगन्जमा पहिलो पटक नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव हुन लागेको छ । आयोजक नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले आइतबार नेपालगन्जमा पत्रकार भेटघाटमार्फत् उक्त कुराको जानकारी गराएको हो ।

महोत्सव आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नेपालगन्जको सुर्खेत रोडस्थित बाटीका होटलमा आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा चार वटा लघु नेपाली चलचित्र र तीन वटा युरोपेली चलचित्र प्रदर्शन गरिनेछ ।

त्यसैगरी वैशाख ४ गते बिहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने र युरोपियन युनियनकी उपप्रमुख डा.जोएल इभोनेट्द्वारा नेपाल–युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यबारे नेपालगन्ज बहुमुखी क्याम्पसमा बिहान ९ः३० देखि १०ः३० बजेसम्म व्याख्यान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा “युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः साँस्कृतिक विविधताको उत्सव” रहेको जानकारी गराइएको थियो ।

पत्रकार भेटघाटमा नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा.जोएल इभोनेट्ले युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकहरुसँग आदानप्रदान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउनुभयो ।

देशका विभिन्न भागमा प्रदर्शन हुने महोत्सवमा नौं वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । जसमा ५२ वटा लघु चलचित्र समावेश भएका थिए । ति मध्येबाट १२ वटा लघु चलचित्र महोत्सवका लागि छनौट गरिएको आयोजकले जनाएको छ ।

चुनिएका नौं वटा युरोपेली चलचित्रमध्ये नेपालगन्जमा मेरियन ब्लिचर निर्देशित ‘मिस भिर्बोग’ (डेनमार्क), इम्यानुएल परभु निर्देशित ‘मिकादो’ (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’ (युक्रेन) गरी तीन वटा र १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ‘ध्येय ड्रिम्स’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, आकांक्षा कार्की निर्देशित ‘सनाई’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ गरी चारवटा चलचित्र प्रदर्शित हुनेछन् ।

नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको १३औं संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौं र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सम्पन्न भइसकेको र नेपालगन्जपछि कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने आयोजकले जानकारी गराएको छ ।

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समिक्षा/समालोचनालाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिने बताइएको छ । यस प्रतिष्पर्धाका विजेताहरु पनि यसै वर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने आयोजकले जानकारी गराएको छ ।