
नेपालगन्ज, वैशाख १४ गते । लुम्बिनी सरकारका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले प्रदेशमा खाद्य अधिकार ऐन बनाउन पहल गर्ने बताउनुभएको छ । खाद्य अधिकार सञ्जालको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्नुहुँदै सामाजिक विकासमन्त्री खत्रीले उक्त कुरा बताउनुभएको हो ।
“हाम्रो प्रदेशमा अझैपनि धेरैको संख्यामा गरिबी, भोकमरी तथा कुपोषणबाट जनताहरु चपेटामा रहेका छन्, भोकमरी र खाद्य असुरक्षा, किसान र खाद्य असुरक्षालगायत तमाम मात्रामा समस्याहरु रहेका छन् ।” मन्त्री खत्रीले भन्नुभयो, “खाद्य असुरक्षासम्बन्धी तमाम मात्रामा देखिएका समस्याहरुलाई सम्बोधन गर्न प्रदेश अन्तर्गत खाद्य अधिकार ऐन र नियमावली बनाएर कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गरी पहल गर्नेछु ।”
“सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गरी आवश्यक सल्लाह, सुझाव र समन्वय गरेर प्रदेश सरकारको आगामी नीति तथा बजेट कार्यक्रममा छलफल गराएर ऐन निर्माणका लागि यस विषयलाई उच्च प्राथमिकतामा राखेर उठान गर्नेछु ।” मन्त्री खत्रीले भन्नुभयो ।
मन्त्री खत्रीले खाद्य उत्पादन गरी सबैको पालनपोषण गर्ने किसानहरुलाई सरकारी कार्यालयहरुले दिने सेवामा पनि पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले, “खाद्य उत्पादन गर्ने किसानको सम्मानका लागि, इज्जतका लागि, प्रोत्साहनका लागि हरेक सरकारी कार्यालयमा उनीहरुका काममा पहिलो प्राथमकितामा राखी सेवा दिनुपर्छ ।”
किसानलाई सम्मानित गरे उनीहरुको मनोभावनामा उच्च विकास हुने र उत्पादनमा अझै लाग्न प्रोत्साहन हुने हुँदा किसानहरुको पहिचान र वर्गीकरण गरी एउटा विशेष किसिमको कार्ड बनाई सोही कार्डमार्फत् पहिचान हुने गरी हरेक ठाउँमा उनीहरुलाई पहिलो प्राथमिकतामा राखी सेवा दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय बादशाह कुर्मी र मिनाकुमारी श्रेष्ठ, राष्ट्रिय खाद्य अधिकार सञ्जालका अध्यक्ष विदुर सुवेदी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख द्धारीका अधिकारी, पुनरावेदन बार नेपालन्जका अध्यक्ष चित्रबहादुर शाही, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतलगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त राष्ट्रिय कार्यशाला गोष्ठी शनिबारसम्म चल्ने छ । देशैभरबाट प्रतिनिधित्व हुने गरी करिब ५५-६० जना खाद्य अधिकारकर्मी तथा खाद्य अधिकार अभियन्ताहरु कार्यक्रममा सहभागी भएको फियान नेपालका खाद्य अधिकारकर्मी सुरेश गौतमले जानकारी दिनुभयो ।

कमेरो खबर । १४ बैशाख २०८१, शुक्रबार २१:०२