
नेपालगन्ज, जेठ ११ गते । बाँकेका विभिन्न पालिकाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गर्ने उद्देश्यले प्रविधिसहितको तालिम सञ्चालन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका पिछडिएका, आदिवासी जनजाति, दलित, मुस्लिम तथा मधेसी महिलाहरुका लागि बुधबारदेखि एक महिने प्रविधिसहितको एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका कार्यालय प्रमुख रमेशबहादुर बुढाथोकीले कोहलपुर नगरपालिकाको वडा नं. १ र ९, राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ र ८ र नरैनापुर गाउँपालिका वडा नं. २ का महिलाहरुलाई बुधबारदेखि एक महिने प्रविधिसहितको एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कोहलपुरमा २०, राप्तीसोनारीमा २० र नरैनापुरमा २० जना पिछडिएका, आदिवासी जनजाति, दलित, मुस्लिम तथा मधेसी महिलाहरुका लागि एक महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । वेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत् महिलाहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
हरेक प्रशिक्षार्थीहरुलाई पाउदानसहितको कपडा सिलाउने मेशिन, बस्ने स्टुल, आइरन, कैंची, स्केल, इन्चिटेप, कपडालगायत आवश्यक पर्ने सम्पूर्ण प्रविधि उपलव्ध गराइने बुढाथोकीले जानकारी दिनुभयो । प्रत्येक महिलालाई तालिमपश्चात् एउटा पसल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधि उपलव्ध गराइने उहाँले बताउनुभयो ।
तालिम सिकेर सिपयुक्त व्यवसायी मात्र नभएर दक्ष प्रशिक्षकसमेत उत्पादन गर्ने तालिमको उद्देश्य रहेको र पछिसम्म पनि दक्ष उद्यमी तथा व्यवसायीलाई कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने कार्यालय प्रमुख बुढाथोकीले बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ ले तालिम सञ्चालनका लागि आफ्नो संसदीय विकास कोषबाट ६० लाख रुपियाँको बजेट व्यवस्थापन गरिदिनुभएको उहाँको भनाइ छ । जसमध्ये तीन ठाउँमा तालिम सुरु गरिसकिएको छ भने राप्तीसोनारीको वडा नं. ४ मा यस्तै प्रकारको प्रविधिसहितको सिलाई कटाई तालिम २० जना र राप्तीसोनारीकै वडा नं. ६ मा ५० जनालाई गड्यौलाबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
तालिमका लागि सम्बन्धित वडा कार्यालयले प्रशिक्षार्थीको नाम छनौट गरेर सिफारिस गर्ने र वडा कार्यालयले गरेको सिफारिस अनुसार सहभागी प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले बेरोजगार दिदीबहिनी तथा युवाहरुलाई लक्षित गरेर हरेकवर्ष विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउनका लागि आफ्नो संसदीय विकास कोषबाट बजेट छुट्याएर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
गतवर्ष पनि राप्तीसोनारीका सबै नौ वटै वडाहरुमा मोवाइल रिपेयरिङ, सिलाई कटाई, हाउस वायरिङ तथा व्युटिसियन तालिमका लागि ७० लाख बजेट विनियोजन गरी एक सय ५० जनालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । गतवर्ष तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरु अहिले आ–आफ्नो पेशा, व्यवसाय तथा नोकरी गरी आत्मनिर्भर बनेको उहाँले बताउनुभयो । यस वर्ष पनि सिपमूलक तालिम सञ्चालनका लागि ६० लाख रुपियाँको बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो ।
बेरोजगार महिला तथा युवाहरुलाई राम्रोसँग सिप सिकेर आयआर्जन तथा जिविकोपार्जनको माध्यम बनाउनका लागि यस्ता सिपमूलक तालिम अत्यन्तै प्रभावकारी हुने उहाँले बताउनुभयो । सिप सिकेपश्चात पेशा व्यवसाय गर्नका लागि ठूलो लगानी पनि आवश्यक नपर्ने, सानो लगानीबाट आफ्नै घरमै बसेर पनि पेशा व्यवसायलाई निरन्तरता दिन सकिने भएका कारण महिला दिदीबहिनीहरुका लागि सिलाइ कटाइ तालिम अत्यन्तै महत्वपूर्ण हुने पूर्वमन्त्री केसीले बताउनुभयो ।
हरेक वर्ष प्रदान गरिँदै आएका यस प्रकारका विभिन्न सिपमूलक तालिम अत्यन्तै प्रभावकारी बनेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । प्रशिक्षार्थीहरुले तालिम लिएपश्चात आत्मनिर्भर बन्नुका साथै दक्ष प्रशिक्षकसमेत उत्पादन गर्न तालिमको महत्वपूर्ण भूमिका रहेको कार्यालयले जनाएको छ । लागत सहभागितामा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत तालिम लिने प्रशिक्षार्थीले कुल लागतको २५ प्रतिशत र कार्यालयको तर्फबाट ७५ प्रतिशत रकम वेहोर्नुपर्ने बताइएको छ ।

कमेरो खबर । ११ जेष्ठ २०८१, शुक्रबार ११:१४