नेपालगन्ज । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले २१औं राष्ट्रिय धान दिवसको अवसर पारेर शनिबार बाँकेमा धान रोपाइँ गरेको छ ।
महासंघ जिल्ला समिति बाँके र डुडुवा गाउँपालिकाको संयुक्त आयोजनामा डुडुवा गाउँपालिका वडा नम्बर ३ कटैया गाउँका किसान मैफजुदिन खानको खेतमा सामूहिक रूपमा धान रोपाइँ गरेको हो ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् बाँके संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले धान दिवसका दिन मात्र नभएर हरेक समय माओवादी पार्टी किसानको साथमा रहेको र सधैभरी किसानकै पक्षमा रहने बताउनुभयो । उहाँले किसानका खाली रहेका सबै जग्गामा उत्पादनमूलक खेती गर्नुपर्ने बताउनुभयो ।
किसानले उत्पादन गरेका खाद्यजन्य वस्तुले सबैलाई जीवनयापन गराएको भन्दै उहाँले किसानलाई उत्पादनमुखी बनाउन सबै पक्षले सहयोगका साथै प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । नेपालकै किसानलाई उत्पादनमा प्रोत्साहन गरि उत्पादनजन्य खाद्यवस्तुमा वृद्धि गराई आयातमा न्यूनीकरण गर्नुपर्ने उहाँको भनाई थियो ।
माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् बाँके सचिव डिल्लीप्रसाद बराल ‘अमिर’ले धान दिवस किसानका लागि एक पर्व भएको बताउनुभयो । उहाँले माटो रोपेर मुरी फलाउने किसान, श्रमिक तथा मजदुरलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् डुडुवा गाउँपालिका इन्चार्ज गेहराज रिजाल ‘नविन’ले खाद्यजन्य वस्तु उत्पादन गरेर सबैको घरघरमा पुराउने किसानलाई सम्बन्धित सरोकारवालाले कृषी उत्पादन बढाउन मल, बीउ, सिचाइलगायतका प्रविधि एवम् आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले असारको आधा महिना बितिसक्दा पनि कैयौं किसानले सिचाइका कारण रोपाइँ गर्न नपाएको भन्दै दु:ख व्यक्त गर्नुभयो ।
रोपाइँ कार्यक्रममा महासंघका डुडुवा अध्यक्ष प्रेमा शाही, कृषि बिज्ञ सम्भु नाथ, केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष जानुका क्षेत्री, केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज मनबिर थापा, लुम्बिनी प्रदेश सदस्य तथा बैजनाथ गाउँ पालिका ईन्चार्ज दलसिंह नाथ, माओवादी लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र विष्ट, लुम्बिनी प्रदेश सदस्य तथा महिला संघ (क्रान्तिकारी केन्द्र) बाँके अध्यक्ष कमला न्यौपाने, डुडुवा अध्यक्ष भोला यादव, कार्यालय सचिव अर्जन कार्की, जिल्ला सदस्य तथा मधेसी मोर्चा अध्यक्ष मोहन सोनखर, नेपालगन्ज उद्योग वाणिज्य महासंघ उपाध्यक्ष मन्दीरा पाण्डेको उपस्थिति रहेको थियो ।
त्यसैगरी स्टेशनरी व्यवसायी मिना डाँगी, मुस्लिम समुदाय अध्यक्ष, युवा अध्यक्ष, प्रेस सेन्टर अध्यक्ष, सुकुम्वासी अध्यक्ष, मजदुर अध्यक्ष, कृषि अनुसन्धानका बिज्ञहरू धनबहादुर पुन, सम्भुनाथ योगी, अमर आचार्य, ओम प्रकाश शर्मा, जनप्रतिनिधि वडा न ३ का अध्यक्षसहित जनवर्गिय संगठनका सदस्य तथा मोर्चाका सदस्यहरू लगायतको उपस्थितिमा धान रोपाइँ गरिएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष तारा प्रसाद खत्री ‘प्रमेस’ले जानकारी दिनुभयो ।

कमेरो खबर । १६ असार २०८१, आईतवार ०८:०२