अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन हुँदै 

कार्यक्रमका बारेमा जानकारी गराउदै आयोजक । तस्बिर : सीता वली

खजुरा, असार २० गते । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले यही असार २१  र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ ।

कार्यक्रमका बारेमा जानकारी गराउन आयोजकले बिहिवार खजुरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार भेटघाटमा गोष्ठीमा छिमेकी मुलुक भारतबाट वरिष्ठ लेखक तथा साहित्यकारहरुको उपस्थिति रहने बताइएको छ । त्यसैगरी काठमाडौ, बुटवल, भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, दाङ, बाँके, बर्दिया, महेन्द्रनगर लगायतका जिल्लाबाट साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ।

खजुरा गाउँपालिकाद्वारा २०७९ सालमा गठित खजुरा प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला तथा गीत सङ्गीत क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । प्रतिष्ठान गठन भएलगत्तै ‘बृहत इतिहास’ नामक ऎतिहासिक पुस्तक प्रकाशन गर्नुका साथै अन्य विभिन्न साहित्यिक कृतिहरु पनि प्रकाशित गर्दै आइरहेको खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.ईन्द्रबहादुर भण्डारीले बताउनुभयो  ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खजुरालाई चिनाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने आशा गरिएको छ ।