
ऐरावती, प्युठान । प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ स्थित धरमपानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले चौकीमा सुत्केरी गराउन ल्याइएकी सुत्केरी महिलालाई बोकेर उहाँको घरसम्म पुर्याएका छन् ।
ऐरावती गाउँपालिका ६ काल्ने निबासी सुत्केरी महिला जिबा बिकलाई स्वास्थ्य चौकीमा सुत्केरी गराएपछि स्वास्थ्यकर्मीले उहाँको घरसम्म बोकेर पुर्याएका हुन् ।
स्थानीय समाजसेवी रामप्रसाद पोख्रेलका अनुसार गर्भवती जिबालाई ब्यथा लागेपछि उहाँको आमाले सुत्केरी गराउनका लागि २२ गते राति आठ बजे स्वास्थ्य चौकी लग्नुभएको थियो ।
स्वास्थ्यकर्मीको सहयोगमा सोही दिन राति दश बजे जिबाले छोरीलाई जन्म दिनुभयो । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य देखिएपछि २३ गते दिउँसो स्वास्थ्य चौकीबाट जिबालाई घर जान भनियो । तर, उहाँ आफैले हिडेर घर जान सक्ने अवस्थामा नभएको पोख्रेलले जानकारी दिनुभयो ।
जिबासँग अन्य कुनै सहयोगी पनि साथमा थिएनन् । उहाँसँग हुनुभएकी आमाले बोकेर लैजान सक्ने अवस्था थिएन । उहाँका श्रीमान पनि घरमा हुनुहुन्थेन ।
त्यसपछि जिबालाई उहाँको घरसम्म लैजानका लागि स्वास्थ्य चौकीकै कर्मचारीहरु अग्रसर हुनुभयो । स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलसहित अहेव, अनमी, ल्याव असिस्टेन्ट तथा कार्यालय सहयोगीसमेत सबै कर्मचारी मिलेर जिबालाई स्ट्रेचरमा राखी दुई किलोमिटर टाढा जिबाको घरसम्म पुर्याएको पोख्रेलले जानकारी दिनुभयो ।
एकातिर गाउँमा युवाहरु नहुनु साथै ४-५ दिनदेखि परिरहेको अविरल वर्षाका कारण उत्पन्न भएको असामान्य अवस्थामा स्वास्थ्य चौकीका कर्मचारीले गरेको यो कार्य सराहनीय र उदाहरणीय भएको पोख्रेलको भनाइ छ ।
स्वास्थ्य चौकी प्रमुख टुकाराम पोख्रेलले जिबालाई २२ गते राति आठ बजे स्वास्थ्य चौकी ल्याइएको र राति दश बजेतिर उहाँले छोरीलाई जन्म दिएको बताउनुभयो । २३ गते दिउँसोसम्म स्वास्थ्य संस्थामै आमा र बच्चालाई राखेर रेखदेख गरिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेपछि उहाँलाई घर जान भनिएको उहाँले जानकारी दिनुभयो ।
उहाँसँग साथमा अरु मान्छे नभएको तथा उहाँ हिडेर घर जान नसक्ने अवस्था देखिएपछि स्वास्थ्य चौकीका सबै कर्मचारी मिलेर स्ट्रेचरमा बोकेर उहाँको घरसम्म पुर्याइएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

कमेरो खबर । २४ असार २०८१, सोमबार ०९:१३