फोनिज रजत वर्ष : तीन विधामा छ जना पुरस्कृत हुँदै

नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो स्थापना दिवस (श्रावण २७)का अवसर पारेर हरेक वर्ष फोनिज सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६औं वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्षका उपलक्ष्यमा विभिन्न तीन विधामा पाँच फोनिज सञ्चारकर्मी र एक सञ्चारमाध्यम गरी छ जनालाई पुरस्कारसहित सम्मान गर्न लागिएको हो ।

साउन २७ गते काठमाडौमा आयोजना हुने बिशेष समारोहमा उक्त पुरस्कार प्रदान गर्न लागिएको फोनिज संघीय समितिका कार्यवाहक महासचिव समीर बलामीले जानकारी दिनुभयो ।

कावा महासचिव बलामीका अनुसार फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ गरी तीन विधामा पाँच फोनिज संचारकर्मी र एक सञ्चारमाध्यमलाई पुरस्कृत गर्न लागिएको हो ।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट विजयरत्न तुलाधार (अनलाईन) ललितपुर र पुष्पहरि क्याम्पा राई (टेलिभिजन) ओखलदुङ्गा, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (अनलाईन) ईलाम, विष्णु तामाङ (छापा) काठमाडौं र खिमा गुरुङ (रेडियो) कास्कीलाई र फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१ बाट लौव अग्रासन साप्ताहिक (थारु भाषा) दाङलाई प्रदान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान र मातृभाषा पत्रकारिताबाट सम्मानित हुनेलाई जनही २५ हजार रुपैयाँ र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेलाई जनही २० हजार रुपैयाँका दरले नगद राशिबाट पुरस्कृत गरिनेछ ।

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो ।

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मतृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताउनुभयो । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो ।