कोहलपुर, भदौ ८ गते । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले दोस्रो वार्षिक उत्सव मनाएको छ । शनिबार सहिद स्मृती भवन कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैै प्रेस सेन्टर कोहलपुरले वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा प्रेस सेन्टर कोहलपुरद्धारा स्थापित पुरस्कार समेत वितरण गरीएको छ । कार्यक्रममा ‘स्व. दिप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार-२०८१’ बाट कल्पना शाही पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिप बहादुर विश्वकर्माको स्मृतिमा स्थापना गरीएको पुरस्कारबाट शाही पुरस्कृत हुनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले शाहीलाई नगद पाँच हजार रुपैयाँसहित कदरपत्र प्रदान गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै न्यौपानेले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
पछिल्लो समय पत्रकारहरुबाट बढी अपेक्षा गर्ने तर उनिहरुको श्रमको मुल्याङकन नगर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रका बारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । राज्यका सबै संयन्त्रलाई खबरदारी गर्ने पत्रकारहरु स्वयं आफू नै विभिन्न समस्याबाट गुज्रिनुपर्ने अवस्था सृजना हुनु दु:खद भएको भन्दै संचार क्षेत्रलाई बलियो बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । न्यौपानेले मोफसलका स-साना मिडियालाई केन्द्रित गरी एउटै ठूलो मिडिया हाउस बनाउनेतर्फ सोच्न समेत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हेमन्त बिक, नेपाल पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रेस सेन्टर कोहलपुर नगर कमिटी उपाध्यक्ष विवेक रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कमेरो खबर । ८ भाद्र २०८१, शनिबार १९:२२