काठमाडौं, भदौ २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ ।
उपाध्यक्ष लामालाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । तीन जना मध्येबाट लामा नियुक्त हुनुभएको हो ।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ५, कमेरेमा जन्मनुभएका लामाले रेडियो नेपालमा २५ वर्ष सेवा पार गरेर स्वेच्छिक अवकाश लिनुभएको थियो । साढे दुई वर्षअघि बरिष्ठ कार्यक्रम अधिकृतबाट उहाँले अनिवार्य अवकाश लिनुभएको हो ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका लामा मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख समेत हुनुहुन्छ ।
२३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकबाट सेवा सुरु गर्नुभएका लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, रेडियो नेपालको बोर्ड सदस्य समेत भइसक्नुभएको छ । रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका लामाले पत्रकारितासँगै अन्य विभिन्न बिषयहरुमा प्रशिक्षकको रुपमा समेत भुमिका निर्वाह गर्दै आउनुभएको छ ।

कमेरो खबर । २१ भाद्र २०८१, शुक्रबार ०९:२९