नि:शुल्क स्वास्थ्य शिविरबाट एक सयबढी स्थानीय लाभान्वित

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मा शनिवार नाक, कान तथा घाँटी रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट एक सय २० जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र डुडुवा ५ नम्बर वडा कार्यालयको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा एक सय २० जना बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष झंकबहादुर थापाले बताउनुभयो ।

५० जना पुरुष र ७० जना महिला गरि एक सय २० जना स्थानीय नागरिकको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनुभयो । छ महिनाका बालबालिकादेखि ७५ वर्षका ज्येष्ठ नागरिक समेतको स्वास्थ्य चेकजाँच गरिएको डाक्टर बसेलले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा कान कम सुन्ने, कान सुन्निएका, कानको जालीमा प्वाल परेका, नाक सुन्निएका र घाँटी लगायतका बिरामीहरुलाई चेकजाँच गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहनुभएका डाक्टर बसेलले बताउनुभयो ।

गाउँमै डाक्टर आएर नि:शुल्क स्वास्थ्य जाँच र नि:शुल्क नै औषधी पाउँदा स्थानीय खुशी देखिन्थे । नेपालगन्ज बजारमा पुगेर सयौं रुपैयाँ डाक्टरको फिस तिरेर चेकजाँच गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीय कालु गिरीले डाक्टर बसेललाई धन्यवाद दिनुभयो ।

शिविरमा असल छिमेकीका स्वास्थ्यकर्मीहरु रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत कम्दी स्वास्थ्य चौकीका कर्मचारीहरुले सहजीकरण गर्नुभएको थियो ।