राप्तीसोनारीमा महोत्सव सञ्चालन हुँदै

राप्तीसोनारी, माघ २५ गते । बाँकेको राप्तीसोनारीमा ‘प्रथम राप्तीसोनारी कृषि व्यापार एवम् पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । राप्ती सोनारी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित रंगशालामा महोत्सव हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले कृषि पर्यटन व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको बताउनुभयो । ‘महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहनेछन्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ढुंगानाका अनुसार महोत्सवमा विभिन्न व्यापारिक, कृषि, सहकारी, राप्तीसोनारी र नरैनापुरक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् । महोत्सवमा व्यापार व्यवसायका साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन प्रदान गरिने संघका महासचिव मोहन गौतमले जानकारी दिनुभयो । ‘महोत्सवमा हरेक दिन स्थानीय एवम् राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन्,’ उहाँले भन्नुभयो ‘हामी राप्तीसोनारीका स्थानीय कलाकारलाई पनि कार्यक्रममा सम्झिनेछौँ ।’ महोत्सव सञ्चालनका लागि राप्तीसोनारी गाउँपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य हुने उहाँले बताउनुभयो ।

महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । स्थानीय अर्गानिक, रैथाने कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित बस्तु, स्वदेशी उद्योगबाट उत्पादित बस्तुको संरक्षण, प्रवर्धन तथा बजारीकरणका लागि उद्योगी तथा व्यवसायीहरुलाई सहयोग पुर्‍याउँदै स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

बाँकेको राप्तीसोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्धन तथा प्रचार प्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने विश्वास लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्धत पुर्‍याउने आयोजकको अपेक्षा छ । महोत्सवबाट संकलित रकमले राप्तीसोनारी उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गरिने आयोजकले जनाएको छ ।